Feb 13, 2016

नेपालमै पहिलोपटक पोखरामा ‘गुरुङ फिल्म अवार्ड’ हुँदै, तयारी तिव्र

नेपालमै पहिलोपटक पोखरामा ‘गुरुङ फिल्म अवार्ड’ हुँदै, तयारी तिव्र



पोखरा, १ फागुन- फागुनको १४ र १५ गते दुईदिनसम्म चल्ने ‘प्रथम गुरुङ फिल्म अवार्ड’को तयारी तिव्र पारिएको छ । गुरुङ फिल्म एशोसियसन जिफान संरक्षक रहने गरि पोखराबाट संचालित ग्ल्यामर वेभसाईट जक्शन डटकमले ईतिहासमै पहिलोपटक गुरुङ फिल्म अवार्ड गर्न लागेको हो ।
२० वर्षे गुरुङ फिल्मको यात्रामा पहिलोपटक हुन लागेको अवार्ड कार्यक्रमलाई लिएर यतिबेला गुरुङ फिल्मकर्मीहरु निकै उत्साहित छन् । ‘पहिलोपटक हुन लागेको गुरुङ फिल्म अवार्डलाई लिएर यतिबेला फिल्मकर्मीमाझ निकै चर्चा परिचर्चा शुरु भैसकेको छ ।’ जिफानका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले भने–‘यो ऐतिहासिक कार्यक्रमप्रति सबैजना निकै सकारात्मक पनि छन् ।
दुई कालखण्ड गरि ७० वटा शिर्षकमा बाँडिने अवार्ड कार्यक्रमलाई लिएर आयोजक पनि निकै हौसिएको छ । ‘गुरुङ फिल्मले गण्डक क्षेत्रमा रहेका बाक्लो गुरुङ जाति र उनीहरुको सँस्कारलाई चिनाउने काम गरेको छ ।’ जक्शन डटकमका प्रमुख कार्यकारी अधिकृत भुपालकुमार गुरुङले भने–‘त्यहि कुरामा काँधमा काँध थप्न हामीले उनीहरुको सम्मान स्वरुप यो अवार्ड कार्यक्रमको आयोजना गरेका हौँ ।
व्यवस्थापकिय हिसाबले पनि अवार्ड कार्यक्रम विशेष हुने जक्शन डटकमका व्यवस्थापक अरुण गिरीले बताए । ‘पोखराले नै गर्व गर्ने खालको कार्यक्रम दुई दिनमा हामीले गर्नेछौँ ।’ गिरीले भने । अवार्डमा गुरुङ फिल्मका सेलिब्रिटिसँगै नेपाली फिल्मका सेलिब्रिटिहरुको पनि उपस्थिती रहनेछ । ४६ वटा फिल्मले सहभागिता जनाएको अवार्ड कार्यक्रम अन्तरगत निर्णायकहरुले सहभागी फिल्मलाई हेरिसकेका छन् । त्यस्तै चर्चित फिल्म, अभिनेता र अभिनेत्री विधाका लागि ‘भोटिङ कोड’ सार्वजनिक भैसकेको छ । चर्चित अवार्डका लागि २१ वटा फिल्म, १५ जना अभिनेता र ११ जना अभिनेत्री मनोनयनमा परेका छन् ।
पचासको दशकको शुरुवाततीर हो, गुरुङ फिल्महरु बन्न थालेको । प्रितम गुरुङको निर्देशनमा पातेँ भन्ने फिल्म बनेपछि नै गुरुङ सँस्कार तथा भाषामा फिल्महरु बन्न थालेको ईतिहास छ । यो बीचमा गुरुङ फिल्म निर्माणको क्रमले २० वर्ष लामो समय गुजारिसकेको छ । तत्कालिन समयमा निकै कम मात्रै फिल्म बन्थे । तर पछिल्लो क्रममा गुरुङ फिल्महरु बग्रेल्ती बन्न थालेका छन् ।
६० को दशकको बीचतीरबाट गुरुङ भाषा र सँस्कारका फिल्महरु बन्ने गति अझै बढ्यो । त्यसपछि गुरुङ फिल्मकर्मीहरु संगठित भए, ‘गुरुङ फिल्म एशोसियसन’ जिफानको नाममा । त्यसयता यो संस्थाले फिल्म निर्माण, प्रदर्शन र बजारिकरण सम्बन्धि केहि नियम बनाएर अगाडि बढिरहेको छ । गुरुङ फिल्म उद्योग नेपालकै दोस्रो ठुलो फिल्म उद्योग हो । भाषा तथा सँस्कारमा बन्ने फिल्महरुलाई लिएर कुरा गर्ने हो भने नेपालको सबैभन्दा ठुलो फिल्म उद्योग यहि हो ।
Close Comments